September 19, 2024

एजेन्सी – सन् २०२३-२४ को सिजन अन्त्य तर्फ अगाडी बढ्दैछ। युरोपका धेरै जसो लिगहरु अगामी महिनाहरुमा सकिनेछन्। घरेलु लिगहरु मात्र नभई च्याम्पियन्स लिग र युरोपा लिग पनि छिट्टै सकिनेछ।

यस समयमा युरोपका केहि क्लबहरु ट्रेबल जित्ने दौडमा छन्। च्याम्पियन्स लिग र युरोपा लिगका सेमिफाइनलको समिकरण पूरा भैसकेको छ। यस्तोमा रियल म्याड्रिड, पेरिस सेन्ट जर्मेन(पिएसजी) र बायर लेभरकुसेन ट्रेबल जित्ने दौडमा देखिएका हुन्।

स्पेनिस महारथी रियल म्याड्रिड अहिले लालिगाको शिर्ष स्थानमा छ। लालिगाका ३१ खेल मध्ये २४ खेलमा जित निकाल्दा रियलले मात्र १ खेलमा हार बेहोरेको छ।

रियलको ७८ अंक सहित शिर्ष स्थानमा ८ अंकको अग्रता छ। रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा पनि पुगिसकेको छ। रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग खेल्नेछ।

च्याम्पियन्स लिगमा बायर्नको चुनौती पन्छाएर फाइनल पुगी १५ औं पटक च्याम्पियन्स लिग जित्ने अवसर रियलसँग छ। त्यस्तै रियलले यस सिजन स्पेनिस सुपर कप जितिसकेको छ। च्याम्पियन्स लिग र लालिगा जितेको खण्डमा अब रियल ट्रेबल विनर बन्न सक्नेछ।

फ्रेन्च क्लब पिएसजीसँग पनि ट्रेबल जित्ने अवसर छ। पिएसजी अहिले फ्रेन्च लिग वानको शिर्ष स्थानमा छ। सिजनका २८ मध्ये १८ खेलमा जित निकाल्दै एक खेलमा हार बेहोरेर पिएसजीले ६३ अंक बनाएको छ।

शिर्ष स्थानमा पिएसजीको १० अंकको अग्रता छ। पिएसजी यस अगाडी नै फ्रेन्च सुपर कप च्याम्पियन बनिसकेको छ। त्यस्तै पिएसजीसँग फ्रेन्च कप जित्ने मौका पनि छ। च्याम्पियन्स लिग सहित कुरा गर्ने हो भने पिएसजीसँग चार उपाधि जित्ने दुर्लभ अवसर छ।

त्यस्तै यस सिजन अपराजित रहेको जर्मन क्लब बायर लेभरकुसेन पनि ट्रेबल विनर बन्न सक्छ। बुन्डेसलिगा च्याम्पियन युरोपा कपको सेमिफाइनलमा पुगिसकेको। त्यस्तै लेभेरकुसेनसँग जर्मन कप जित्ने मौका पनि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *