September 19, 2024

एजेन्सी – युरोपेली फुटबलमा यति बेला सबै भन्दा बढी कसैको चर्चा छ भने ती जर्मन क्लब बायर लेभरकुसेनका प्रशिक्षक जाबी अलोन्सोको छ। जाबीले जारी सिजनमा अपराजित रहँदै लेभरकुसेनलाई च्याम्पियन्स बनाउन सफल भए।

जाबीले प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि लेभरकुसेन कम्जोर टोलीबाट धेरै बलियो टोलीमा परिणत भएको छ। कुनै बेला रेलिगेसन जोनमा रहेको लेभरकुसेन बुन्डेसलिगा च्याम्पियन बन्न सफल भएको छ।

लेभरकुसेन यस सिजन कुनै पनि प्रतियोगिताको कुनै खेलमा पराजित भएको छैन। लेभरकुसेनले अपराजित रहँदै बुन्डेसलिगा मात्र जितेन, युरोपा लिगको सेमिफाइनलमा पनि स्थान बनायो।

लेभरकुसेनसँगको सफलता पछि जाबीको माग ह्वात्तै बढेको छ। जाबीलाई बायर्न म्युनिख र लिभरपुल जस्ता क्लबहरुले भित्रयाउन प्रयास समेत गरे। तर दुवै क्लब असफल भए।

जाबीले कम्तीमा एक सिजन लेभरकुसेनसँग रहने निर्णय गरिसकेका छन्। स्पेनिस महारथी रियल म्याड्रिड आवद्ध हुनको लागि जाबीले जर्मनीमै रहने निर्णय गरेको चर्चा यति बेला चलिरहेको छ।

जाबी आगामी सिजनको अन्त्य पछि रियल आवद्ध हुने अवस्थामा रहेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्। जाबीले रियलमा कार्लो एन्सेलोटीको स्थान लिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *