एजेन्सी – प्रिमियर लिगको महत्वपूर्ण खेल अगाडी लण्डन क्लब चेल्सीलाई झड्का लागेको छ। लण्डन डर्बीमा आर्सनलको सामना गर्नु अगाडी चेल्सीलाई झड्का लागेको हो।
आर्सनलको सामना गर्नु अगाडी चेल्सीका एक महत्वपूर्ण खेलाडी घाइते हुन पुगेका छन् र उनले आर्सनल विरुद्धको खेल गुमाउन सक्ने सम्भावना बढेको छ।
ती खेलाडी अरु कोहि नभई पछिल्लो समय राम्रो लयमा रहेका कोल पाल्मर हुन्। ब्लुजका मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले आर्सनलको सामना गर्नु अगाडी आयोजित पत्रकार सम्मेलनका क्रममा पाल्मर घाइते रहेको जानकारी दिए।
पोचेटिनोका अनुसार पाल्मरले आर्सनल विरुद्ध खेल्छन् नै भनेर भन्न सकिने अवस्था छैन। आर्सनलको सामना गर्नु अगाडी पाल्मरको अवस्था बारे थप मूल्याङ्कन पछि मात्र उनी खेल्ने नखेल्ने बारे निर्णय गरिने पोचेटिनोले बताए।
“हामी भोलि हेर्नेछौं। उनको भोली बिहान मूल्याङ्कन हुनेछ। आजै उनको अवस्था बारे स्पष्ट भन्न सकिने अवस्था छैन। उनी भोलि राम्रो भए भने पनि उनले नखेल्ने अवस्था हुन सक्छ। उनी खेल्न सक्ने अवस्थामा छैनन्। आशा छ कि उनी सकेसम्म चाँडो निको हुनेछन्।”,पोचेटिनोले भने।
गत समरमा म्यानचेस्टर सिटीबाट ब्लुजमा सामेल भएदेखि पाल्मर यस सिजनमा चेल्सीका सबैभन्दा उत्कृष्ट खेलाडीको रुपमा देखा परेका छन्।