एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले धेरै राम्रो खेलेको बताएका छन्।
च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा बायर्नसँग बराबरी खेलेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा कार्लो एन्सेलोटीले पहिलो लेगमा बायर्नले धेरै राम्रो खेलेको बताएका हुन्।
पहिलो लेगमा बायर्नले आफ्नो उत्कृष्ट खेल प्रस्तुत गरेको कार्लो एन्सेलोटीको भनाई छ। त्यसक्रममा उनले बायर्न विरुद्ध रियलले भने आफ्नो पूर्ण क्षमता अनुसार खेल्न नसकेको टिप्पणी गर्न छुटाएनन्।
“बायर्नले आज आफ्नो उत्कृष्ट फुटबल खेल्यो र हामीले आफ्नो उत्कृष्ट खेल्न सकेनौं।”,कार्लो एन्सेलोटीले थप भने,”यो राम्रो नतिजा हो।”
बायर्नको घरेलु मैदानमा भएको पहिलो लेगको खेल मंगलबार २-२ को बराबरीमा रोकिएको थियो। रियलका लागि भिनिसियस जुनियरले दुई गोल गर्दा बायर्नका लागि ह्यारी केन र लिरोए सानेले एक-एक गोल गरेका थिए।
अब दोस्रो लेग आगामी साता रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ।