September 20, 2024

एजेन्सी – च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा स्पेनिस महारथी रियल म्याड्रिडले मंगलबार राति जर्मन क्लब बायर्न म्युनिखको सामना गर्यो।

बायर्न म्युनिखको घरेलु मैदानमा भएको खेलमा रियल र बायर्नले २-२ को बराबरी खेले। बलमा राम्रो नियन्त्रण राखेपनि बायर्नले घरेलु मैदानको फाइदा उठाउँदै जित निकाल्न सकेन।

खेलको २४ मिनेटमा ब्राजिलियन युवा स्टार भिनिसियस जुनियरको गोलबाट रियलले अग्रता लिएको थियो। मिडफिल्डबट टोनी क्रुसले खेलेको अद्भुत थ्रु-पासलाई अगाडी बढाएर भिनिसियसले गोल गरेका थिए।

त्यसपछि पहिलो हाफमा कुनै पनि टोलीबाट थप गोल भएनन्। खेलको ५३ औं मिनेटमा बायर्नले बराबरी गोल फर्कायो। लिरोए सानेले एकल रन बनाएर गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो।

त्यसको चार मिनेटमै बायर्नले अग्रता लिन सफल भयो। लुकास भास्केजले बक्स भित्रबाट जमाल मुसीयालामाथि फाउल गरेपछि बायर्नले पेनाल्टीको अवसर पायो। जसमा ह्यारी केन चुकेनन्। खेलको ८३औं मिनेटमा रियलले पेनाल्टी मार्फत गोल गर्दै खेलमा बराबरी गर्यो। सो गोल भिनिसियसले गरेका थिए।

घरेलु मैदानमा बराबरीमा रोकिएपछि यति बेला बायर्न च्याम्पियन्स लिगबाट बाहिरिने सम्भावना बढेको टिप्पणी भइरहेको छ। धेरैले सामाजिक संजालमा अब रियलले बायर्नलाई आफ्नो घरेलु मैदानमा नराम्रोसँग पराजित गर्न सक्ने बताएका छन्।

सेमिफाइनलको दोस्रो लेग आगामी साता लस ब्लान्कोसको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ। रियलको घरेलु मैदानमा बायर्नले धेरै राम्रो प्रदर्शन गर्न नसक्ने र पराजित हुँदै बाहिरिने धेरैको अनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *