एजेन्सी – च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई झड्का लागेको छ। च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा पिएसजीलाई झड्का लागेको हो।
बुधबार राति पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डसँग पराजित भयो। डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा डर्टमण्ड १-० को गोल अन्तरले विजयी भयो।
बलमा राम्रो नियन्त्रण राखेपनि गोलमा चुक्दा पिएसजी पराजित हुन पुग्यो। खेलभर पिएसजीले बलमा कुल ५८ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर पिएसजीको तर्फबाट कुल १४ प्रहार भएका थिए।
जसमध्ये ३ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा परिणत हुन भने सकेनन्। त्यस्तै घरेलु टोलीले भने खेलभर १३ प्रहार गरेको थियो। जसमध्ये ४ प्रहार टार्गेटमा थिए।
त्यस मा एक प्रहार गोलमा परिणत भयो। डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका थिए। डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप बिट गर्दै बनाएको रनमा उनले गोल गरे।
दोस्रो लेग अर्को हप्ता पिएसजीको घरेलु मैदानमा हुनेछ। पिएसजी र डर्टमण्ड बीचको विजेताले रियल म्याड्रिड र बायर्न म्युनिखबीचको विजेतासँग फाइनल खेल्नेछ।