एजेन्सी – साउदी प्रो लिग क्लब अल हिलाल प्रतिद्वन्दी क्लब अल नासरका लागि यस सिजन टाउको दुखाईको विषय बनिरहेको छ। अल हिलालको उच्च लयकै कारण अल नासर यस सिजन उपाधि विहिन बन्नु पर्ने हुन सक्छ।
साउदी प्रो लिगको उपाधिका लागि प्रतिष्पर्धा गरिरहेका यी दुई टोली बीच अर्को उपाधिका लागि पनि प्रतिष्पर्धा हुने पक्का भएको छ। अब दुई किङ कप अफ च्याम्पियन्स उपाधिका लागि पनि भिड्ने भएका छन्।
सेमिफाइनलमा जित निकाल्दै दुवैले फाइनलमा स्थान बनाइसकेका छन्। यसको अर्थ उपाधि विहिन नहुने हो भने अल नासरले फाइनलमा अल हिलाललाई कुनै पनि हालतमा पराजित गर्नु पर्नेछ।
अल हिलाल साउदी प्रो लिगको शिर्ष स्थानमा छ। अल नासर भन्दा एक खेल कम खेलेको अवस्थामै अल हिलाल ९ अंकले अगाडी छ। अब अल हिलाल साउदी प्रो लिग च्याम्पियन बन्न मात्र २ जितले टाढा छ।
यस्तोमा उपाधि अल हिलालको पोल्टामा जाने लगभग पक्का छ। अल नासरले यस अगाडी अल हिलालकै कारण साउदी सुपर कप पनि गुमाएको थियो।
साउदी सुपर कपको सेमिफाइनलमा अल नासर हिलालसँग पराजित हुन पुगेको थियो। अब किङ कप अफ च्याम्पियन्स उपाधिका लागि पनि अल हिलाल तगारो नबन्ला भन्न सकिँदैन।