एजेन्सी – लण्डन क्लब चेल्सीले प्रिमियर लिगमा महत्वपूर्ण जित निकालेको छ। प्रिमियर लिगको जारी सिजनको ३७ औं खेलमा चेल्सीले महत्वपूर्ण जित निकालेको हो।
बुधबार राति चेल्सीले ब्राइटनलाई उसकै घरेलु मैदानमा २-१ को गोल अन्तरल पराजित गर्यो। चेल्सीको जितमा कोल पाल्मर र क्रिस्टोफर एनकुन्कुले गोल गर्दा ब्राइटनका लागि ड्यानी वेलबेकले गोल गरे।
बलमा ब्राइटनले बढी नियन्त्रण राखेपनि आक्रमणमा भने चेल्सीले राम्रो गरेको थियो। बलमा ब्राइटनको ५५ प्रतिशत नियन्त्रण थियो। ब्राइटनले खेलभर १२ प्रहार गरेको थियो। जसमध्ये २ प्रहार टार्गेटमा थिए।
चेल्सीको तर्फबाट भने कुल १४ प्रहार भएका थिए। जसमध्ये ६ प्रहार टार्गेटमा थिए। खेलको ३४ औ मिनेटमा चेल्सीले अग्रता लिएको थियो। सो गोल पाल्मरले गरेका थिए।
खेलको ६४ औं मिनेटमा क्रिस्टोफर एनकुन्कुले गोल गरेसंगै चेल्सीले २-० को अग्रता पायो। खेलको ८८ औं मिनेटमा चेल्सी १० खेलाडीमा सिमित हुन पुग्यो।
त्यसबेला डिफेन्डर रिस जेम्स रेड कार्ड बेहोर्दै मैदानबाट बाहिरिएका थिए। इन्ज्युरी समयको सातौं मिनेटमा ब्राइटनले गोल गरेपनि हार टार्न भने सकेन।
चेल्सी ६० अंक सहित छैठौं स्थानमा छ भने ब्राइटन ४८ अंक सहित १० औं स्थानमा छ। यस जितसंगै चेल्सी प्रिमियर लिगको जारी सिजनमा म्यानचेस्टर युनाइटेड भन्दा माथि रहने पक्का भएको छ।