September 19, 2024

एजेन्सी – साउदी क्लब अल–नासरका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले उमेर ४० वर्ष पुग्न लागेपनि चाँडै सन्यास लिने आफ्नो मन नरहेको स्पष्ट पारेका छन्।

एक कुराकानीका क्रममा रोनाल्डोले बढिरहेको उमेरका बाबजुत आफू तत्काल सन्यास लिने सोचमा नरहेको स्पष्ट पारेका हुन्। आफू अझै उच्च स्तरमा खेल्ने मनस्थितिमा रहेको रोनाल्डोले बताए।

रोनाल्डोले हूप पोडकास्टमा आफ्नो करियर बारे चर्चा गर्दै लगातार २० वर्ष सम्म उच्च स्तरमा प्रदर्शन गर्न सकेकोमा आफू खुशी रहेको उल्लेख गरे। त्यसक्रममा उनले आफू अहिले पनि उच्च स्तरमा प्रतिस्पर्धा गरिरहेको बताउन छुटाएनन्।

“म यो उमेर पाएकोमा गर्व महसुस गर्छु र अझै पनि उच्च स्तरमा प्रतिस्पर्धा गरिरहेको छु। यो उत्कृष्ट छ र यसले मलाई अगाडि बढ्न प्रेरणा दिन्छ। यदि तपाईंले मेरो २० वर्षको करियरलाई हेर्नुभयो भने, यो अविश्वसनीय छ। त्यो मेरो लागि ठूलो उपलब्धि हो। म यसलाई अझै जारी राख्ने पक्षमा छु।”,रोनाल्डोले भने।

रोनाल्डोले युवा खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न सहज नभएको उल्लेख गर्दै शाररिक र मानसिक रुपमा बलियो बन्नु पर्ने आवश्यकता रहेको औंल्याए।

उनले भने,”यो स्तरमा हुन सजिलो छैन। आउँदै गरेका युवा सिंहहरूसँग प्रतिस्पर्धा गर्न सहज छैन। शारीरिक रूपमा मात्र होइन मानसिक रूपमा पनि राम्रोसँग तयारी गर्नुपर्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *