एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने म्यानचेस्टर युनाइटेडले चेल्सीका दुई पूर्व प्रशिक्षकहरुलाई क्लबको जिम्मेवारी दिन सक्छ।
वर्तमान प्रशिक्षक एरिक टेन ह्याकलाई बर्खास्त गर्नु परेको अवस्थाका लागि युनाइटेडले चेल्सीका दुई पूर्व प्रशिक्षकहरुलाई प्राथमिकतामा राखेको बेलायती खेल मिडियाहरुले दावी गरेका हुन्।
खबरका अनुसार युनाइटेडको नजरमा थोमस टुचेल र मौरिसियो पोचेटिनो रहेका छन्। मौरिसियो पोचेटिनोले यसै साता चेल्सी छाडेका हुन्। चेल्सीसँगको आफसी समझदारीमा क्लब छाडेपछि पक्कै पनि उनी नयाँ क्लबको खोजिमा छन्।
त्यस्तै टुचेलले पनि जर्मन क्लब बायर्न म्युनिख छाडिसकेका छन्। चेल्सीमा हुँदा उनले सन् २०२१ मा च्याम्पियन्स लिग जितेका थिए। तर बायर्नमा भने उनले खासै राम्रो गर्न सकेनन्।
यता टेन ह्यागले पहिलो सिजनमा युनाइटेडलाई राम्रो लयमा अगाडी बढाएपनि दोस्रो सिजनमा भने खासै राम्रो गर्न सकेनन्। जस कारण उनी नयाँ सिजन युनाइटेडमा रहन्छन् कि रहँदैनन् भन्ने कुनै टुंगो छैन।
युनाइटेडले आगामी समयमा उनको भविष्य बारे पक्कै पनि निर्णय गर्नेछ। उनलाई बर्खास्त गरेको खण्डमा युनाइटेडले टुचेल र मौरिसियो पोचेटिनो मध्ये एकलाई क्लबको जिम्मेवारी दिए अचम्म मान्नु पर्ने छैन।