एजेन्सी – आइतबार बिहान इन्टर मियामी मेजर सकर लिगको जारी सिजनको १६ औं खेलका लागि एक्सनमा उत्रँदैछ। मियामीले आइतबार बिहान भ्यानकुभर ह्वाइटक्याप्सको सामना गर्नेछ।
इन्टर मियामी र भ्यानकुभर ह्वाइटक्याप्स बीचको खेल क्यानडाको बिसी प्लेसमा हुनेछ। इन्टर मियामी र भ्यानकुभर ह्वाइटक्याप्स बीचको खेल नेपाली समय अनुसार आइतबार बिहान ८ बजेर १५ मिनेटमा सुरु हुनेछ।
मियामी अहिले इस्टर्न कन्फरेन्स तर्फको शिर्ष स्थानमा छ। मियामीले यस सिजन खेलेका १५ खेल मध्येका ९ खेलमा जित निकालेको छ भने २ खेलमा पराजय भोगेको छ।
यस बीचमा मियामीले ४ बराबरी खेलेको छ। मियामीको ३१ अंक रहेको छ। उता भ्यानकुभर ह्वाइटक्याप्स वेस्टर्न कन्फरेन्स तर्फको सातौं स्थानमा छ।
भ्यानकुभर ह्वाइटक्याप्सले यस सिजन खेलेका १३ खेल मध्ये ५ खेलमा जित निकालेको छ भने ४ खेलमा बराबरी खेलेको छ। भ्यानकुभर ह्वाइटक्याप्सको १९ अंक छ।
मेस्सी खेल्ने सम्भावना कति ?
विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने अर्जेन्टिनी स्टार लियोनेल मेस्सी भ्यानकुभर ह्वाइटक्याप्स विरुद्ध खेल्ने छैनन्। मेस्सी भ्यानकुभर ह्वाइटक्याप्स भ्रमण गर्ने टोलीमा नरहेको बताइएको छ।
मेस्सीका अलावा लुइस सुआरेज र सर्जियो बुस्केट्स पनि आइतबारको खेलमा सहभागी हुने छैनन्।