September 19, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको नाममा रहेको तीन वर्ष देखिको एक दुर्लभ जितको शृंखलामा ब्रेक लागेको छ। बिहिबार बिहान इन्टर मियामी पराजित भएसंगै मेस्सीको नाममा रहेको जितको एक दौडमा ब्रेक लागेको हो।

चेज स्टेडियममा इन्टर मियामीले बिहिबार एट्लान्टा युनाइटेडको सामना गरेको थियो। जुन खेलमा मियामीले नराम्रो हार बेहोर्न पुग्यो। एट्लान्टा युनाइटेड ३-१ को गोल अन्तरले विजयी भयो।

खेलको ४४ औं मिनेटमा साबाको गोलबाट एटलान्टा युनाइटेडले अग्रता लिएको थियो। उनी साबाले खेलको ५९ औं मिनेटमा व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे।

मेस्सीले खेलको ६२ औं मिनेटमा गोल गर्दै मियामीलाई खेलमा फर्काउने प्रयास गरे। खेलको ७३ औं मिनेटमा जमलले गोल गर्दा मियामी ३-१ को गोल अन्तरले पछि पर्यो।

स्पोर्ट बाइबलका अनुसार मेस्सीले गोल गरेपछि लिग खेलमा उनको टोली पराजित भएको यो तीन वर्षको पहिलो पटक हो।

सन् २०२१ मे १६ मा बार्सिलोनाको ला लिगा घरेलु मैदानमा सेल्टा भिगोसँग २-१ ले हारेपछि मेस्सीले गोल गरेको खेलमा उनको टोली पराजित भएको थिएन।

तर बिहिबार बिहान भने मेस्सीको सो जितको शृंखलामा ब्रेक लाग्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *