एजेन्सी – युरो कप अगाडीको मैत्रीपूर्ण खेलमा पोर्चुगलले सानदार जित दर्ता गरेको छ। युरो कपको मुखैमा आयोजित मैत्रीपूर्ण खेलमा पोर्चुगलले फिनल्याण्डलाई सहजै पराजित गरेको हो।
मंगलबार राति जोसे अल्भालाडे स्टेडियममा भएको खेलमा पोर्चुगलले फिनल्याण्डलाई ४-२ को गोल अन्तरले पराजित गर्यो। क्रिस्टियानो रोनाल्डो नखेलेको खेलमा पनि पोर्चुगलले सहज जित निकालन सक्यो।
पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेसले दुई गोल गर्दा डिएगो जोटा र रुबेन डियासले एक-एक गोल गरे। त्यस्तै फिनल्याण्डका लागि भने दुवै गोल तिमु पुक्कीले गरेका थिए।
खेलको १७ औं मिनेटमै पोर्चुगलले अग्रता लिएको थियो। त्यसबेला डियासले गोल गरेका थिए। खेलको पहिलो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा जोटाले पेनाल्टी गोल गर्दा पोर्चुगलले २-० को अग्रता पायो।
खेलको ५५ औं मिनेटमा ब्रुनोले टोलीका लागि तेस्रो गोल गरे। तर खेलको ७२ र ७७ औं मिनेटमा पुक्कीले गोल गर्दा फिनल्याण्डले खेलमा फर्किने अवसर पायो।
खेलको ८४ औं मिनेटमा पोर्चुगलले चौथो गोल गर्यो। सो गोल ब्रुनोले गरेका थिए।