September 20, 2024

एजेन्सी – रियल म्याड्रिड र ब्राजिलका फरवार्ड रोड्रिगोले २०२४ कोपा अमेरिकामा सेलेकाओका लागि प्रतिष्ठित १० नम्बरको जर्सी लगाउनेछ्न्। विभिन्न खेल मिडियाहरुका अनुसार रोड्रिगोले कोपा अमेरिकामा १० नम्बरको जर्सी लगाउने भएका हुन्।

युवा फरवार्डले आगामी महाद्वीपीय प्रतियोगितामा पेले, रिभेलिनो, रिभाल्डो, रोनाल्डिन्हो, काका र नेयमार जस्ता दिग्गजहरूको विरासत बोक्ने विभिन्न खेल मिडियाहरुको दावी छ।

पछिल्लो समय ब्राजिलको राष्ट्रिय टोलीमा १० नम्बरको जर्सी नेयमारले लगाउँदै आएका थिए। तर नेयमार यस पटकको कोपा अमेरिका प्रतियोगितामा भने हुने छैनन्।

नेयमार साउदी क्लब अल हिलाल पुगेको केहि समय लगत्तै घाइते हुन पुगेका थिए। ब्राजिलबाट खेल्दा उनको खुट्टामा चोट लागेको थियो र उनले साउदी प्रो लिगको पूरा सिजन गुमाएका थिए।

चोटका कारण उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। त्यसयता उनि आराम गरिरहेका छन्। सो चोटका कारण उनले कोपा अमेरिकामा सहभागिता जनाउन सक्ने छैनन्।

उनको अनुपस्थितिमा रोड्रिगोले १० नम्बरको जर्सी लगाउनेछन्। रोड्रिगोले यस सिजन रियल म्याड्रिडसँग च्याम्पियन्स लिग, लालिगा उपाधि जितिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *