एजेन्सी – साउदी क्लब अल हिलालका अध्यक्ष अल हेलीले अर्जेन्टिनी स्टार लियोनेल मेस्सीलाई भित्र्याउन क्लबले के कति प्रस्ताव गरेको थियो भन्ने बारे स्पष्ट पारेका छन्।
एक कुराकानीका क्रममा अल हेलीले मेस्सीलाई भित्र्याउन क्लबले कस्तो प्रस्ताव गरेको थियो भन्ने बारे जानकारी दिएका हुन्। अल हेलीका अनुसार क्लबले मेस्सीलाई बम्पर प्रस्ताव पठाएको थियो।
सो प्रस्ताव १ अर्ब ४० करोड युरो बराबर रहेको उनको भनाई छ। आफूहरुले त्यति ठूलो प्रस्ताव पठाएपनि मेस्सीले परिवारका कारण अमेरिका रोजेको अल हेलीले बताए।
अल हेलीका अनुसार मेस्सीले परिवारका कारण अमेरिका जाने निर्णय गरेका थिए। मेस्सीले पैसा भन्दा ठूलो परिवार हुन्छ भन्ने कुरा प्रमाणित गरेको र त्यसलाई आफूहरुले सम्मान गरेको अल हेलीले उल्लेख गरे।
“हामीले वास्तवमा पेरिसमा मेस्सीको सम्झौताको अन्त्यमा सम्पर्क गरेका थियौं। हामीले उनलाई १ दशमलभ ४ बिलियन यूरोको प्रस्ताव राख्यौं, तर उनले अस्वीकार गरे किनभने उनको परिवार अमेरिका जान चाहन्थ्यो। उनले यति ठूलो रकम अस्विकार गर्नु अचम्मको कुरा हो। उनले पैसा भन्दा परिवारलाई रोजे।”,हेलीले भने।
पिएसजीसँगको सम्झौता सकिएपछि अल हिलालले मेस्सीलाई भित्र्याउन सक्दो प्रयास गरेको थियो। तर मेस्सीले अल हिलालको सट्टा इन्टर मियामी जाने निर्णय गरेका थिए।