एजेन्सी – युरो कपको पहिलो खेलमै फ्रेन्च स्टार किलियन एम्बाप्पे घाइते हुन पुगेका छन्। युरो कपको पहिलो खेलमा अस्ट्रियाको सामना गर्नेक्रममा एम्बाप्पे घाइते हुन पुगेका हुन्।
बल नियन्त्रणमा लिनको लागि उफ्रँदा एम्बाप्पे अस्ट्रियाका डिफेन्डर केभिन डान्सोसँग जुध्न पुगेका थिए। जसकारण एम्बाप्पेको नाक भाँचिन पुगेको थियो।
खेलका दौरान नाकमा चोट लागेपछि एमबाप्पेलाई अस्पताल लगिएको थियो। खेलको ९० औं मिनेटमा उनको स्थानमा भेट्रान खेलाडी ओभिभर जिरुडलाई मैदान प्रवेश गराइएको थियो।
प्रारम्भिक रुपमा एम्बाप्पेको नाकको शल्यक्रिया गर्नु पर्ने रिपोर्टहरु बाहिर आएका थिए। तर पछिल्ला रिपोर्टहरुका अनुसार एम्बाप्पेको नाकको शल्यक्रिया गर्नु पर्ने छैन।
सोमबार राति फ्रान्सले अस्ट्रियालाई १-० को गोल अन्तरले पराजित गर्यो। बलमा खासै राम्रो नियन्त्रण राख्न नसकेको फ्रान्स आत्मघाती गोलका कारण विजयी हुन पुगेको हो।