एजेन्सी – फ्रेन्च स्टार किलियन एम्बाप्पे जर्मनीमा जारी युरो कपमा फेस मास्क सहित देखिने सम्भावना बढेको छ। एम्बाप्पे आफैंले त्यस्तो संकेत गरेका हुन्।
सोमबार राति फ्रान्सले अस्ट्रियाको सामना गरेको थियो। फ्रान्सले संघर्षपूर्ण जित निकालेको खेलमा एम्बाप्पे घाइते हुन पुगेका थिए। विपक्षी टोलीका खेलाडीसँग जुध्दा एम्बाप्पेको नाक भाँचिएको थियो।
खेलका दौरान नाकमा चोट लागेपछि एमबाप्पेलाई अस्पताल लगिएको थियो। खेलको ९० औं मिनेटमा उनको स्थानमा भेट्रान खेलाडी ओभिभर जिरुडलाई मैदान प्रवेश गराइएको थियो।
प्रारम्भिक रुपमा एम्बाप्पेको नाकको शल्यक्रिया गर्नु पर्ने रिपोर्टहरु बाहिर आएका थिए। तर पछिल्ला रिपोर्टहरुका अनुसार एम्बाप्पेको नाकको शल्यक्रिया गर्नु पर्ने छैन।
शल्यक्रिया गर्न नपर्ने भएपछि एम्बाप्पेले सामाजिक संजाल मार्फत आफ्ना शुभ चिन्तकहरु माझ एक प्रश्न राखेका छन्। उनले लेखेका छन्,”मास्क बारे केहि आइडिया छ?”
एम्बाप्पेको पोस्टमा धेरैले उनलाई निन्जा टर्टल मास्क लगाउन सुझाव दिएक छन्। धेरैले निन्जा टर्टल मास्कमा रहेको एक तस्विर एम्बाप्पेको पोस्टमा कमेन्ट गरेका छन्।
Des idées de masques 🎭😅 ?
— Kylian Mbappé (@KMbappe) June 17, 2024