एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने फ्रेन्च स्टार किलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई औपचारिक नोटिस पठाएका छन्।
केहि समय अगाडी मात्रै पिएसजी छाडेर रियल म्याड्रिडसँग सम्झौता गरेका एम्बप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट उठ्न बाँकी वक्यौता रकमका लागि नोटिस पठाएको दावी विभिन्न खेल मिडियाहरुले गरेका हुन्।
फ्रेन्च पत्रिका ले इक्विपका अनुसार एम्बाप्पेले पिएसजीसँग १ सय मिलियन युरो जति रकम लिन बाँकी रहेको छ। बोनस, पारिश्रमिकको रुपमा पाउन बाँकी रकम उठाउनको लागि एम्बाप्पे पक्षले पिएसजीलाई पत्र पठाएको ले इक्विपको दावी छ।
एम्बाप्पे सन् २०१७ देखि पिएसजीमा थिए। सात वर्ष पिएसजीमा रहँदा उनले च्याम्पियन्स लिग बाहेक अन्य सबै उपाधि जिते। गत सिजन उनले सबै प्रतियोगिताका ४७ खेलमा ४४ गोल गरेका थिए।
हाल, एमबाप्पे युरो २०२४ मा फ्रान्सको राष्ट्रिय टोलीसँग छन्। प्रतियोगिता सकिएपछि उनी सान्टियागो बर्नाबेउ जानेछन्, जहाँ लस ब्लान्कोसले सुपरस्टारलाई अनावरण गर्ने गर्नेछ।