September 19, 2024

एजेन्सी – लगातार दोस्रो जित दर्ता गरेपछि पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश गरेको छ। लगातार दुई जित पश्चात एक खेल अगावै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको हो।

पोर्चुगलले जर्मनीमा जारी युरो कपको दोस्रो खेलमा टर्कीलाई सहजै पराजित गर्यो। सिग्नल इडुना पार्कमा भएको खेलमा पोर्चुगल ३-० को गोल अन्तरले विजयी भयो।

पोर्चुगलका लागि बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले १-१ गोल गर्दा एक गोल भने उपहारमा पाएको थियो। पहिलो हाफमा २-० को अग्रता पाएको पोर्चुगलले दोस्रो हाफमा एक गोल थपेको थियो।

२१औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गरेपछि पोर्चुगल १-० को गोल अन्तरले अगाडी बढेको थियो। २८औं मिनेटमा टर्किस डिफेन्डर समेत अकायदिनले आफ्नो गोलकिपरलाई दिएको ब्याकपास दुई जनाको तालमेल नमिलेपछि सिधै पोस्टभित्र पुग्यो।

जससंगै पोर्चुगलले २-० को अग्रता पायो। पोर्चुगलको तेस्रो गोल ५६औं मिनेटमा आयो। सो गोल रोनाल्डोको पासमा ब्रुनो फर्नान्डेजले गरेका थिए। यस जितसंगै पोर्चुगलको ६ अंक भएको छ।

टर्कीको २ खेलमा ३ अंक छ भने जर्जिया र चेकियाको १-१ अंक छ। आगामी खेलमा पोर्चुगलले जर्जियाको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *