एजेन्सी – अमेरिकामा जारी कोपा अमेरिकाको दोस्रो खेलका लागि साविक विजेता अर्जेन्टिना बुधबार एक्सनमा उत्रिँदैछ। जित सहित सुखद सुरुवात गरेको अर्जेन्टिना दोस्रो खेलका लागि बुधबार एक्सनमा उत्रन लागेको हो।
बुधबार अर्जेन्टिनाले दोस्रो खेलमा चिलीको सामना गर्नेछ। चिली र अर्जेन्टिना बीचको खेल मेटलाइफ स्टेडियममा नेपाली समय अनुसार बिहानको ६ बजेर ४५ मिनेटमा सुरु हुनेछ।
प्रतियोगिताको पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई पराजित गरेको थियो। सो खेलमा अर्जेन्टिना २-० को गोल अन्तरले विजयी भएको थियो। चिलीले भने पहिलो खेलमा पेरुको सामना गरेको थियो।
बुधबार चिली विरुद्ध जित निकाल्न सकेको खण्डमा अर्जेन्टिनालाई ठूलो फाइदा मिल्नेछ। अर्जेन्टिना एक खेल अगाडी नै कोपा अमेरिकाको अर्को चरणमा प्रवेश गर्नेछ।
मेस्सी खेल्ने सम्भावना कति ?
कप्तान लियोनेल मेस्सीले क्यानडा विरुद्ध गोल गर्न नसकेपनि सानदार प्रदर्शन गरेका थिए। सो खेलमा उनले एक असिस्ट प्रदान गरेका थिए। मेस्सी चिली विरुद्ध खेल्ने उच्च सम्भावना छ।
जारी प्रतियोगिता मेस्सीका लागि अन्तिम कोपा अमेरिका हुन सक्छ। मेस्सीले सात पटक प्रतियोगितामा सहभागिता बनाएर रेकर्ड बनाइसकेका छन्। मेस्सी बुधबार पक्कै पनि गोल गर्ने योजनामा हुनेछन्।