एजेन्सी – उपाधि दावेदार ब्राजिल कोपा अमेरिका २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा जित निकालनबाट चुकेको छ। बलमा नियन्त्रण राखेपनि आक्रमणमा चुक्दा ब्राजिल जित निकाल्नबाट चुकेको हो।
ब्राजिलले मंगलबार बिहान कोस्टारिकासँग बराबरी खेल्यो। अमेरिकाको लस एन्जेलसस्थित सोफाइ रंगशालामा सम्पन्न खेल गोलरहित बराबरीमा टुंगिदा दुवै टोलीले १-१ अंक हात प्राप्त गरे।
ब्राजिल बराबरीमा रोकिएपछि ब्राजिलका समर्थक निराश बनेका छन्। सामाजिक संजालमा ब्राजिलका समर्थकहरु आक्रोश पोख्दै देखिएका छन्। धरैले रोनाल्डिन्होको ब्राजिलको मूल्याङ्कन सही भएको दाबी गरिरहेका छन्।
केहि समय अगाडी ब्राजिलियन लेजेण्ड रोनाल्डिन्होले हालको ब्राजिलियन टोली धेरै खराब रहेको बताएका थिए। ब्राजिलियन टोलीमा अहिले औसत खेलाडीहरू मात्र रहेको उनको टिप्पणी थियो।
“यो ब्राजिलियन फुटबल मन पराउनेहरूका लागि दुःखको क्षण हो। खेलहरू हेर्ने भावना पाउन गाह्रो भइरहेको छ। अहिलेको टोली पछिल्लो समयको सबैभन्दा खराब मध्ये एक टोली हो।”,रोनाल्डिन्होले सामाजिक संजालमा केहि समय अगाडी लेखेका थिए।
ब्राजिल बराबरीमा रोकिएपछि धेरैले रोनाल्डिन्होको टिप्पणी सहि रहेको बताइरहेका छन्।