एजेन्सी – अमेरिकामा जारी कोपा अमेरिकामा ब्राजिलले पहिलो जित निकालेको छ। पहिलो खेलमा बराबरीमा रोकिएको ब्राजिलले शनिबार बिहान सानदार जित दर्ता गरेको हो।
शनिबार बिहान ब्राजिलले पाराग्वेलाई सहजै पराजित गर्यो। एलेजिन्ट स्टेडियममा शनिबार समूह ‘डी’ को अन्तिम खेलमा ब्राजिलले ४-१ को सानदार जित दर्ता गर्यो।
ब्राजिलको जितमा भिनिसियस जुनियरको २ गोल गर्दा साभिओ र लुकास पाक्वेटाले एक-एक गोल गरे। पाराग्वेका लागि भने एक मात्र गोल ओमर एल्डरेटले गरे।
खेलको ३५औं मिनेटमा जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। ४३औं मिनेटमा साभिओले ब्राजिलका लागि दोस्रो गोल गरे भने पहिलो हाफको इन्ज्युरी समयमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गरे।
उनले खेलको पहिलो हाफको इन्ज्युरी समयको पाँचौ मिनेटमा गोल गरेका थिए। ४८औं मिनेटमा ओमर एल्डरेटले गोल गर्दा खेल ३-१ को अवस्थामा पुग्यो।
६५औं मिनेटमा लुकासले पेनाल्टीमार्फत गोल गरेपछि गरेपछि ब्राजिलको ४-१ को जित पक्का भयो।