एजेन्सी – कोपा अमेरिका च्याम्पियन बने यता लियोनेल मेस्सी मैदान बाहिर छन्। मेस्सी कोपा अमेरिकाको फाइनलमा कोलम्बियाको सामना गर्दा घाइते हुन पुगेका थिए।
त्यसयता मेस्सी निरन्तर आराम गरिरहेका छन्। फाइनलमा मेस्सीको खुट्टा नराम्रोसँग सुन्निएको देखिएको थियो। सो चोटका कारण मेस्सी अहिले प्रशिक्षणबाट समेत बाहिर छन्।
विभिन्न खेल मिडियाहरुका अनुसार मेस्सी अहिले आफ्नो पुनर्वास पद्धतिलाई नजिकबाट नियालिरहेका छन् र आफ्नो पुनरागमनको लागि लक्ष्य तय गरिरहेका छन्।
अहिले उनको सुन्निएको खुट्टाको दुखाई कम भएको बताइएको छ। टिवाईसि स्पोर्ट्सका अनुसार मेस्सी अहिले मेडिकल स्टाफको सावधानीपूर्वक निगरानीमा जिममा काम गरिरहेका छन् ।
इन्टर मियामीले मेस्सी घाइते भएपछि चार खेल खेलिसकेको छ। मियामी मेस्सीलाई फिर्ता बोलाउन हतार गर्ने योजनामा नरहेको बताइएको छ।