एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने अर्जेन्टिनी स्टार लियोनेल मेस्सी विश्वकप छनोट खेल्न इच्छुक छन्। कोपा अमेरिका फाइनलमा घाइते भएपनि मेस्सीले विश्वकप छनोट खेल्ने योजना बनाएको विभिन्न खेल मिडियाहरुले दावी गरेका हुन्।
प्रतिष्ठित फुटबल पत्रकार, ग्यास्टन एडुलले मेस्सीले सेप्टेम्बर मा सुरु हुने दक्षिण अमेरिकी विश्वकप क्वालिफायरका लागि उपलब्ध हुने लक्ष्य राखेको दाबी गरेका छन्।
अर्जेन्टिना र कोलम्बियाबीचको कोपा अमेरिकाको फाइनल दोस्रो हाफमा खुट्टाको चोटका कारण मेस्सीले बाहिरिनु परेको थियो । खेलको ६६ औं मिनेटमा मैदान छाड्न परेपछि मेस्सी रोएका थिए।
खेल पश्चात मेस्सीको खुट्टा सुन्निएको देखिएको थियो। त्यसपछि मेस्सी निरन्तर आराम गरिरहेका थिए। पछिल्लो रिपोर्ट अनुसार मेस्सी सो चोटबाट निको हुने क्रममा छन्।
अर्जेन्टिनाले सेप्टेम्बर ५ मा घरेलु मैदान ब्यूनस आयर्समा चिलीविरुद्धको विश्वकप छनोट अभियानलाई पुनः सुरु गर्नेछ। गत वर्ष नोभेम्बरमा उरुग्वेसँग मात्रै हार बेहोरेको अर्जेन्टिना ६ खेलबाट १५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।