September 19, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी क्याटलान क्लब बार्सिलोनाका आफ्ना पूर्व सहकर्मी लुइस सुआरेजलाई भावुक सन्देश पठाएका छन्। अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका सुआरेजलाई मेस्सीले भिडियो सन्देश पठाएका हुन्।

सुआरेजले भर्खरै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए। उनले दक्षिण अमेरिकी विश्वकप छनोटमा उरुग्वेका लागि अन्तिम खेल खेल्दै सन्यास लिए। पराग्वे विरुद्धको खेल पश्चात एक कार्यक्रमका बीच सुआरेजको बिदाई गरियो।

त्यस कार्यक्रममा मेस्सी र नेयमारले पठाएको सन्देश देखाएको थियो। मेस्सीले आफ्नो सन्देश मार्फत सुआरेजसँग खेल्न पाउनु आफ्नो लागि भाग्यको कुरा रहेको बताएका थिए।

“नमस्ते फ्याटी। परिवारको लागि, उरुग्वेका मानिसहरू र सामान्यतया फुटबल प्रशंसकहरूका लागि यस्तो अर्थपूर्ण दिनमा भिडियो रेकर्ड गरिरहेको छु। तिमिले आफ्नो टोलि र आफ्नो देशको लागि सबै कुरा दियौ। तिम्रो साथमा हुनु मेरो लागि भाग्यको कुरा हो।”,मेस्सीले भिडियो सन्देश मार्फत भनेका थिए।

मेस्सीले थप भनेका छन्,”मलाई थाहा छ यो निर्णय गर्न कत्ति गाह्रो थियो किनभने तिम्रो लागि उरुग्वेको राष्ट्रिय टोली धेरै महत्वपूर्ण थियो।”

मेस्सी र नेयमारको सन्देश देख्दा सुआरेज भावुक हुन पुगेका थिए। त्यसक्रममा सुआरेजका आँखा रसाएका थिए।

मेस्सी र सुआरेजले बार्सिलोनामा कयौं वर्ष संगै खेलेका थिए। अहिले पनि मेस्सी र सुआरेज एकै टोलिमा छन्। मेस्सी र सुआरेज अहिले मेजर सकर लिग क्लब इन्टर मियामीमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *