September 20, 2024

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमै स्पेनिस क्लब बार्सिलोना पराजित भएको छ। च्याम्पियन्स लिगको पहिलो खेलमा बार्सिलोना लिग वान क्लब मोनाकोसँग पराजित भएको हो।

खेलको सुरुवातमै १० खेलाडीमा सिमित हुन पुग्दा बार्सिलोना पराजित हुन पुग्यो। खेलको १० औं मिनेटमा एरिक गार्सिया रेड कार्ड बेहोर्दै मैदानबाट बाहिरिएका थिए।

त्यसको ६ मिनेट पछि मोनाकोले अग्रता लियो। मोनाकोका लागि खेलको १६ औं मिनेटमा म्याग्नेस अक्लिउचेले गोल गरेका थिए। खेलको २८ औं मिनेटमा बार्सिलोनाले बराबरी गोल फर्कायो।

सो गोल युवा स्टार लमिन यमालले गरेका थिए। त्यसपश्चात पहिलो हाफमा थप गोल हुन नसकेपनि खेलको ७१ औं मिनेटमा मोनाकोका लागि जर्ज इलेनिखेनाले गोल गरे, जुन खेलको निर्णायक बन्न पुग्यो।

तोडियो प्रशिक्षक हान्सी फ्लिकको जित यात्रा

जर्मन प्रशिक्षक हान्सी फ्लिकको जित यात्रामा पूर्ण विराम लागेको छ। मोनाकोसँग पराजित भएसंगै फ्लिकको जित यात्रामा पूर्ण विराम लागेको हो। नयाँ सिजन सुरु भएपछि फ्लिकको नेतृत्वमा बार्सिलोनाले लालिगामा ब्याक टु ब्याक पाँच जित निकालेको थियो।

जसमा बार्सिलोनाले कुल १७ गोल गर्दा ४ गोल बेहोरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *