एजेन्सी – अमेरिकी मेजर सकर लिगमा इन्टर मियामीले नयाँ रेकर्ड बनाएको छ। सिजनको अन्तिम लिग खेलमा सानदार जित दर्ता गरेसंगै मियामीले नयाँ रेकर्ड बनाएको हो।
मेजर सकर लिग अंकको मामलामा मियामीले नयाँ रेकर्ड बनायो। आइतबार बिहान न्यू इंग्ल्याण्ड माथि निकालेको जित मियामीका लागि यस सिजनको २२ औं जित थियो।
सिजनका ३४ खेलमा ४ हार र ८ बराबरी सहित मियामीले ७४ अंक दर्ता गर्यो। मेजर सकर लिगको इतिहाँसमा कुनै पनि टोलीले जोडेको यो अहिले सम्मकै उच्च अंक हो।
यस भन्दा अगाडी सन् २०२१ मा न्यू इंग्ल्याण्डले ७३ अंक बनाएको थियो। तर मियामीले ७४ अंक जोड्दै यस सिजन सो रेकर्ड तोड्यो।
चेज स्टेडियममा मियामीले न्यू इंग्ल्याण्डलाई ६-२ को गोल अन्तरले पराजित गर्यो। मियामीका लागि अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले ह्याट्रिक गर्दा लुइस सुआरेजले दुई गोल गरे।
त्यस्तै बेन्जामिन क्रेमास्चीले एक गोल गरे। पाहुना टोलीका लागि भने लुका लांगोनी र डिलन बोरेरोले एक-एक गोल गरे। खेलको पहिलो हाफ २-२ को बराबरीमा रहेपनि मियामीले दोस्रो हाफमा ४ गोल थपेको थियो।