January 13, 2025 1:33:25 PM

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले भगवानको चाहनामा आफू विश्वकप विजेता बनेको बताएका छन्। एक कुराकानीका क्रममा मेस्सीले भगवानको चाहनाले आफू विश्वकप विजेता बनेको बताएका हुन्।

स्टार+ डकुमेन्ट्री ‘च्याम्पियन्स, एक वर्ष पछि’ मा बोल्दै मेस्सीले विभिन्न बाधाका बाबजुत भगवानले चाहेकै कारण आफूले अन्ततः विश्वकप उपाधि जितेको बताए।

त्यसक्रममा उनले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको फाइनल सम्म पुगेर उपाधि जित्न नसकेको क्षणलाई पनि स्मरण गरे। फाइनल पुगेर पराजित भएपनि विश्वकप विजेता बन्छु भन्ने आत्मविश्वास आफूभित्र रहेको मेस्सीले बताउन छुटाएनन्।

उनी भन्छन्,”मैले धेरै वर्ष पहिले भनेको थिएँ – म पक्का विश्व च्याम्पियन बन्छु। त्यो ब्राजिलमा फाइनल हार्नु अघिको कुरा थियो। मलाई थाहा थियो कि भगवान म विश्व च्याम्पियन बनोस् भन्ने चाहनुहुन्थ्यो। बीचमा धेरै ठक्कर खाइयो तर अन्त्यमा यो सम्भव भयो।”

मेस्सीले यसअघि सन् २०१४ को ब्राजिल विश्वकपमा विश्वकपको फाइनलमा पराजयको स्वाद चाखेका थिए। त्यसबेला अर्जेन्टिनालाई पराजित गर्दै जर्मनीले विश्वकप जितेको थियो। तर त्यसको आठ वर्ष पछि अर्जेन्टिनाले विश्वकप फाइनलमा फ्रान्सलाई पराजित गर्दै सन् २०२२ मा विश्वकप उपाधि जित्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *