एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले कुनै बेला साउदी प्रो लिगमा सामेल हुने बारे सोचेको बताएका छन्। एक कुराकानीका क्रममा मेस्सीले पेरिस सेन्ट जर्मेन(पिएसजी)संगको सम्झौता सकिएपछि साउदी प्रो लिग आफ्नो लागि एक विकल्प रहेको स्वीकार गरेका हुन्।
पिएसजीसंगको सम्झौता सकिएपछि बार्सिलोना फिर्ता हुन सम्भव नभएको अवस्थामा आफूसंग दुई विकल्प रहेको र त्यसमा साउदी लिग पनि रहेको मेस्सीको भनाई छ।
“मेरो पहिलो विकल्प बार्सिलोना फर्कने थियो, तर त्यो सम्भव भएन। मैले फर्कने प्रयास गरेँ, तर त्यो हुन सकेन। यो पनि सत्य हो कि पछि मैले साउदी लिग जानेबारे धेरै सोचेको थिएँ। मलाई देश थाहा छ र उनीहरूले एक धेरै शक्तिशाली प्रतिस्पर्धा सिर्जना गरेका छन् जुन निकट भविष्यमा महत्त्वपूर्ण लिग बन्न सक्छ। म संग मेजर सकर लिग र साउदी दुई विकल्प थिए।”,मेस्सीले भने।
मेस्सीलाई भित्र्याउन साउदी क्लब अल हिलालले गत समर ट्रान्सफर विन्डोमा सक्दो प्रयास गरेको थियो। अल हिलाल मेस्सीलाई दुई वर्षे सम्झौताका लागि १ बिलियन युरो सम्म तिर्न तयार थियो।
तर मेस्सीले साउदी भन्दा पनि अमेरिका जाने निर्णय गरे। मेस्सी अहिले अमेरिकी क्लब इन्टर मियामीमा छन्। मियामीलाई मेजर सकर लिगको नकआउट चरणमा पुर्याउन नसकेपनि मेस्सीले एक उपाधि दिलाए।