एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) अन्ततः च्याम्पियन्स लिगको नकआउटका लागि छनोट भएको छ। च्याम्पियन्स लिगको समूह चरणको अन्तिम खेलमा बराबरीको नतिजा निकालेसंगै पिएसजी च्याम्पियन्स लिगको नकआउट चरणका लागि छनोट भएको हो।
बुधबार राति पिएसजीले जर्मन क्लब बोरुसिया डर्टमण्डसंग बराबरी खेल्यो। १-१ को बराबरी खेलेसंगै पिएसजीले एक अंक पायो र सो एक अंककै कारण पिएसजी च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्यो।
डर्टमण्डको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा कुनै पनि टोलीले गोल गर्न सकेनन्। तर दोस्रो हाफको सुरुवाती समयमै घरेलु टोलीले अग्रता लियो।
डर्टमण्डका करिम अदेयेमीले खेलको ५१ औं मिनेटमा गोल गरेका थिए। पिएसजीले बराबरी गोल फर्काउन धेरै समय लगाउनु परेन। पिएसजीका वारेन जाइरे-एमरीले खेलको ५६ औं मिनेटमा गोल गर्दै पिएसजीको हार टारे।
उता समूह ‘एफ’कै अर्को खेलमा एसी मिलानले न्यूक्यासल युनाइटेडलाई पराजित गर्यो। मिलानले न्यूक्यासललाई उसकै घरेली मैदानमा २-१ को गोल अन्तरले पराजित गर्यो।
मिलानको जितले पिएसजीलाई फाइदा पुग्यो। मिलन र पिएसजीको समान आठ अंक भएपनि गोल अन्तरको आधारमा पिएसजीले नकआउटमा स्थान बनायो।