एजेन्सी – रियल म्याड्रिडका डिफेन्डर डेभिड अलाबाले कथित रूपमा साउदी प्रो लिग (एसपीएल) दिग्गज अल-इतिहादबाट ठूलो प्रस्ताव प्राप्त गरेका छन्।
साउदी क्लब अल इतिहादले अलाबालाई भित्र्याउन चाहेको र त्यसका लागि आकर्षक प्रस्ताव पठाएको स्पेनबाट प्रकाशित हुने विभिन्न खेल मिडियाहरुले जनाएका हुन्।
अल इतिहाद अलाबालाई वार्षिक २० मिलियन युरो पारिश्रमिक दिन तयार रहेको बताइएको छ। त्यस्तै उनका लागि रियल म्याड्रिडलाई ४० मिलियन युरो ट्रान्सफर शुल्क तिर्न पनि तयार रहेको रेलेभो पत्रकार रोद्राको भनाई छ।
रियल म्याड्रिडमा अलाबाको सम्झाता सन् २०२६ का लागि छ। उनी सन् २०२१ को समर ट्रान्सफर विन्डोमा रियल आइपुगेका थिए। बायर्न म्युनिखबाट फ्री एजेन्टको रुपमा रियल आइपुगेका उनले रियलसंग रहेर सम्पूर्ण उपाधि जितिसकेका छन्।
रियल आएकै सिजन उनले लालिगा, सुपर कप र च्याम्पियन्स लिग जित्दा दोस्रो सिजनमा कोपा डेल रे, फिफा क्लब विश्वकप र यूईएफए सुपर कप जितेका थिए।
साउदी क्लब अल इतिहादले भित्र्याउन चासो देखाएको भएपनि अलाबा भने रियलमै रहने पक्षमा रहेको बताइन्छ। खबरका अनुसार अलाबा आकर्षक तलब तर्फ लोभिएका छैनन्।