एजेन्सी – एएस रोमाका प्रशिक्षक जोसे मोरिन्होले प्रिमियर लिग जित्ने दौडमा आर्सनलको कम सम्भावना रहेको बताएका छन्। एक कुराकानीका क्रममा आर्सनल भन्दा पनि अन्य टोलीले प्रिमियर लिग जित्न सक्ने बताएका हुन्।
एक पत्रकार सम्मेलनका क्रममा जोसे मोरिन्होलाई प्रिमियर लिगको उपाधि होड बारे प्रश्न गरिएको थियो। त्यसक्रममा उनले म्यानचेस्टर सिटी र लिभरपुल मध्ये एकले प्रिमियर लिग उपाधि जित्न सक्ने बताए।
“प्रिमियर लिग म्यानचेस्टर सिटीले जित्ने ५१ प्रतिशत सम्भावना र लिभरपुलले जित्ने ४९ प्रतिशत सम्भावना देख्छु।”,मोरिन्होले भने। आर्सनलको सम्भावना बारे प्रश्न गरिँदा उनले त्यस्तो कुनै सम्भावना आफूले नदेखेको बताए।
अहिले प्रिमियर लिगको शिर्ष स्थानमा आर्सनल छ। आर्सनलले सिजनका १७ खेल खेल्दा १२ खेलमा जित निकालेको छ भने २ खेलमा हार बेहोरेको छ। त्यस्तै ३ खेलमा बराबरी खेल्दा आर्सनलले ३९ अंक बटुलेको छ।
दोस्रो स्थानमा लिभरपुल छ। लिभरपुलले सिजनका १७ खेलमा ११ जित, ५ बराबरी र एक हार सहित ३८ अंक बटुलेको छ। ३८ अंक नै रहेको एस्टन भिल्ला तेस्रो स्थानमा छ।
चौंथो स्थानमा साविक विजेता म्यानचेस्टर सिटी छ। सिटीले १७ खेल मद्ये १० जित, ४ बराबरी र ३ हार सहित ३४ अंक बनाएको छ।