एजेन्सी – साउदी क्लब अल हिलालका ब्राजिलियन स्टार नेयमारले सन् २०२४ को कोपा अमेरिका गुमाउने भएका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार नेयमारले सन् २०२४ को कोपा अमेरिका प्रतियोगिता गुमाउने भएका हुन्।
यस खबरलाई ट्रान्सफर बजारका प्रख्यात जानकार फाब्रिजियो रोमानोले पनि पुष्टि गरेका छन्। नेयमारले सन् २०२४ को कोपा अमेरिका गुमाउने तथ्यलाई ब्राजिलका डाक्टरले समेत पुष्टि गरेको रोमानोको भनाई छ।
नेयमार सन् २०२४ को कोपा अमेरिका सम्म ठिक हुन कठीन हुने ब्राजिलका टोली डाक्टर रोड्रिगो लास्मारले बताएको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।
“कोपा अमेरिका धेरै छिटो हुन सक्छ। नेयमार त्यति बेला सम्म ठीक हुन कठीन हुन सक्छ। हाम्रो अपेक्षा यो छ कि उनी २०२४ को युरोपेली क्यालेन्डरको सुरुमा अगस्टमा फर्कन तयार हुनेछन्।”,लास्मार भन्छन्।
नेयमार केहि महिना अगाडी दक्षिण अमेरिकी विश्वकप छनोटका क्रममा ब्राजिलका लागि खेल्दा घाइते भएका थिए। नेयमारलाई लागेको चोट गम्भीर निस्किएपछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो।
शल्यक्रिया पश्चात नेयमार अहिले आराम गरिरहेका छन्। उनका लागि यस सिजन सकिसकेको छ। अब नेयमार आगामी सिजनका लागि मात्र उपलब्ध हुनेछन्।