September 20, 2024

एजेन्सी – प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले अर्को नमिठो हार बेहोरेको छ। सन् २०२३-२४ को सिजन सुरु भएपछि लय समात्न संघर्षरत युनाइटेडले शनिबार अर्को हार बेहोरेको हो।

युनाइटेड शनिबार वेष्टह्यामसंग पराजित भयो। वेष्टह्यामको घरेलु मैदानमा भएको खेलमा बलमा राम्रो नियन्त्रण राखेपनि युनाइटेड वेष्टह्यामसंग २-० को गोल अन्तरले स्तब्द बन्न पुग्यो।

वेष्टह्यामको जितमा जारोड बोवेन र मोहम्मद कुदुसले एक-एक गोल गरे। पहिलो हाफमा वेष्टह्यामलाई गोल रहित बराबरीमा रोकेपनि युनाइटेडले दोस्रो हाफमा दुई गोल बेहोरेको थियो।

बोवेनले खेलको ७२ औं मिनेटमा गोल गर्दै युनाइटेड विरुद्ध वेष्टह्यामलाई अग्रता दिलाएका थिए। त्यसको ६ मिनेट पश्चात ७८ औं मिनेटमा गोल गर्दै कुदुसले वेष्टह्यामको अग्रता दोब्बर पारे।

युनाइटेड माथि जित निकालेसंगै वेष्टह्याम प्रिमियर लिगको छैठौं स्थानमा उक्लिएको छ। प्रिमियर लिगका १८ खेलमा ९ जित र ६ हार सहित वेष्टह्यामले ३० अंक बटुलेको छ।

युनाइटेडले यस सिजन १८ खेलमा ९ खेलमा जित निकाल्दा ८ खेलमा हार बेहोरेको छ। त्यस्तै एक खेल बराबरी सहित युनाइटेडको २८ अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *