एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका अर्जेन्टिनी स्टार जुलियन अल्भारेज पछिल्लो समय निरन्तर चर्चामा छ। गएको केहि समय देखि उच्च प्रदर्शन गरिरहेका उनी समय संगै थप निखारिंदै छन्।
शुक्रबार राति क्लब विश्वकपमा अल्भारेजले आफू बिग गेम प्लेयर भएको प्रमाणित गरे। क्लब विश्वकप फाइनलमा उनले सिटीलाई जित दिलाउन महत्वपूर्ण भूमिका निभाए।
उनले सिटीका लागि दुई गोल गरेका थिए। गत सिजन सिटीबाट ट्रेबल जितेका उनको ट्रफी क्याबिनेटमा क्लब विश्वकप पनि थपियो। २३ वर्षको उमेरमै उनले आफ्नो उपाधि संख्या १४ पुर्याएका छन्।
क्लब र राष्ट्रिय दुवै टोली टोलीबाट अल्भारेजले उपाधि जितेका छन्। अर्जेन्टिनाबाट उनले कोपा अमेरिका, फिनालीसिमा र विश्वकप जितेका उनले सिटीबाट प्रिमियर लिग, एफए कप, युईएफए सुपर कप, च्याम्पियन्स लिग र क्लब विश्वकप गरी पाँच उपाधि जितिसकेका छन्।
यस्तै उनले यस अगाडी लीगा प्रोफेशनल, कोपा अर्जेन्टिना, सुपरकोपा अर्जेन्टिना, ट्रोफियो डे कैम्पियोन्स, कोपा लिबर्टाडोरेस र रेकोपा सुदामेरिकाना उपाधि जितेका थिए।
२३ वर्षको उमेरमा १४ उपाधि जितिसक्नु पक्कै सामान्य सफलता होइन। उनको लयलाई हेर्दा यस्तो देखिन्छ कि सबै भन्दा बढी उपाधि जित्ने खेलाडी बन्ने बाटोमा छन्।
तर त्यसको लागि उनले अहिलेको लयलाई जारी राख्नु पर्ने हुन्छ। फुटबलको इतिहाँसमा सबै भन्दा बढी उपाधि जित्ने खेलाडीको रेकर्ड अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको नाममा छ।
मेस्सीले अहिले सम्म ४४ उपाधि जितिसकेका छन्। यस मामलामा अल्भारेज ३० उपाधिले पछि छन्। हुन त मेस्सीले अझै केहि उपाधि थप्न सक्छन्। तर जे होस् मेस्सीको रेकर्ड अल्भारेजले नतोड्लान भन्न सकिँदैन।