एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने साउदी क्लब अल इत्तिहाद र फ्रेन्च स्टार करिम बेन्जेमा बीचको सम्बन्ध पछिल्लो समय त्यति राम्रो छैन।
बेन्जेमा अल इत्तिहादको प्रि-सिजन प्रशिक्षण शिविरमा सहभागी नरहेको र दुबई भ्रमणका लागि नगएको स्पेनिस पत्रिका मार्काले जनाएको छ। प्रि-सिजन प्रशिक्षण शिविरमा सहभागी नभएका कारण बेन्जेमालाई दुबई भ्रमण टोलीबाट पनि बाहिर राखिएको बताइएको छ।
जनवरी १२ शुक्रबार अन्य खेलाडीहरु जस्तै बेन्जेमा क्लबको प्रशिक्षण सेसनमा सहभागी हुनु पर्ने थियो। तर सो सेसनमा बेन्जेमा देखा परेनन्। जसका कारण क्लबका प्रशिक्षक मार्सेलो ग्यालार्डोले बेन्जेमालाई दुबई भ्रमणको टोलीबाट बाहिर राखे।
करिम बेन्जेमाले यसअघि पनि प्रशिक्षण गुमाएका थिए। सन् २०२४ सुरु हुनु अगाडी नै बेन्जेमाले तीन पटक क्लबको प्रशिक्षण छुटाएको साउदी मिडियाहरुको दावी छ।
अल इत्तिहादका पछिल्ला प्रशिक्षकसंग पनि बेन्जेमाको खासै राम्रो सम्बन्ध थिएन। बेन्जेमालाई प्रशिक्षक मन नपरेकै कारण क्लबले नयाँ प्रशिक्षक नियुक्त गरेको थियो। तर नयाँ प्रशिक्षकसंग पनि बेन्जेमाको सम्बन्ध राम्रो हुने संकेत देखिएको छैन।