September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभीले माफी मागेका छन्। स्पेनिस सुपर कपको फाइनलमा रियल म्याड्रिडसंग लज्जास्पद हार बेहोरेपछि जाभीले माफी मागेका हुन्।

खेल पश्चात कुराकानी गर्दै जाभीले फाइनलमा जस्तो प्रदर्शन गर्नु पर्ने हो त्यस्तो प्रदर्शन गर्न आफूहरु असमर्थ भएको स्वीकार गरे। उनले डिफेन्ड र आक्रमण दुवैमा खराब प्रदर्शन गरेको बताए।

“हामीले यस्तो हालतमा फाइनल आइपुग्न हुँदैनथ्यो। हामीले यो भन्दा राम्रो प्रदर्शन गर्न सक्नु पर्थ्यो। हामी डिफेन्स र हाई प्रेसिङ दुवैमा खराब थियौं।”,जाभीले भने।

रोबर्ट लेवान्डोस्कीको गोल पछि खेलमा फर्किने मौका पाएपनि पेनाल्टी बेहोरेपछि भने टोली थप संकटमा परेको जाभीको भनाई छ। त्यसक्रममा जाभीले दोस्रो हाफमा पनि बार्सिलोनाले खराब खेलेको बताउन छुटाएनन्।

“रोबर्ट लेवान्डोस्कीको गोल पछि हामी खेलमा केहि फर्कियौं। तर पेनाल्टीले हामीलाई झन् समस्यामा पार्यो। मेरा लागि त्यो पेनाल्टी नै थिएन। बार्सिलोना प्रबन्धकको रूपमा मात्र होइन, तर बार्सिलोना प्रशंसकको रूपमा म धेरै दुखी छु। म यति मात्र भन्न सक्छु। हाम्रा फ्यानहरूसँग माफी चाहन्छौं तर हामी फिर्ता हुनेछौं।”,जाभीले भने।

स्पेनिस सुपर कमको फाइनलमा आइतबार राति बार्सिलोना र रियल म्याड्रिड आमने-सामने भएका थिए। सो खेलमा रियलले बार्सिलोनालाई ४-१ को गोल अन्तरले पराजित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *