September 20, 2024

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली युवा स्टार एर्लिङ हालाण्ड सन् २०२३ को उत्कृष्ट खेलाडी घोषित भएका छन्। दुबई ग्लोब सकर अवार्डमा हालाण्ड सन् २०२३ को उत्कृष्ट खेलाडी घोषित भएका हुन्।

क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी जस्ता खेलाडीलाई पछि पार्दै हालाण्डले ग्लोब सकर उत्कृष्ट वर्ष खेलाडीको अवार्ड हात पारे। सन् २०२३ भर गरेको उच्च प्रदर्शनका लागि हालाण्डलाई सो अवार्ड दिइएको हो।

हालाण्डले सो अवार्डका लागि मेस्सी र रोनाल्डो मात्र नभई जुड बेलिङ्घम, करिम बेन्जेमा, केभिन डे ब्रुइन, केलियन एमबाप्पे, भिक्टर ओसिमहेन, मोहम्मद सलाह, बर्नार्डो सिल्भा र भिनिसियस जुनियरलाई पनि पछि पारे।

हालाण्डले सन् २०२३ मा सिटीका लागि निरन्तर उच्च प्रदर्शन गरेका थिए। उनले सन् २०२३ भर सिटी र नर्वेका लागि कुल ५० गोल गरेका थिए। उनले सिटीलाई ट्रेबल जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए।

हालाण्डका लागि सन् २०२३ ट्रफीले भरिपूर्ण रह्यो। सिटीसंग उनले प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग जिते। पछि उनले युइएफए सुपर कप पनि जिते। क्लब विश्वकपमा भने हालाण्ड चोटका लागि खेल्न सकेनन्।

हालाण्ड यस अगाडी महत्वपूर्ण दुई अवार्डमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीसंग पछि परेका थिए। उत्कृष्ट प्रदर्शनका बाबजुत हालाण्डले बालोन डी’ओर र फिफा द बेस्ट अवार्ड गुमाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *