एजेन्सी – केहि खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने बार्सिलोनाका पूर्व खेलाडी फिलिप काउटिन्हो आफ्ना पूर्व सहकर्मी लियोनेल मेस्सीको पाइला पछ्याउँदै अमेरिका पुग्न सक्छन्।
पछिल्लो समय युरोपेली फुटबलबाट गुमनाम भएका फिलिप काउटिन्हो अमेरिका जान सक्ने दावी विभिन्न खेल मिडियाहरुले गरेका हुन्। खबरका अनुसार उनलाई मेस्सीको क्लब इन्टर मियामीले भित्र्याउन सक्छ।
नयाँ सिजन सुरु हुनु अगाडी इन्टर मियामीले टोलीलाई थप बलियो बनाउन चाहेको छ। मेजर सकर लिग जित्ने योजना सहित अगाडी बढ्ने योजना बनाएको मियामीको राडरमा काउटिन्हो परेको बताइन्छ।
मियामीमा यस अगाडी नै बार्सिलोनाका चार फुटबल खेलाडी पुगिसकेका छन्। मियामी पुग्ने बार्साका पूर्व सहकर्मीहरुमा लियोनेल मेस्सी, सुइस सुआरेज, सर्जियो बुस्केट्स र जोर्डी अल्बा छन्।
काउटिन्हो पनि मियामी पुग्ने हो भने त्यहाँ बार्सिलोनाका पूर्व खेलाडीको संख्या पाँच हुनेछ। ३१ वर्षिय खेलाडी अहिले कतारी क्लब अल-दुहेलमा छन्। एस्टन भिल्लाबाट उनी लोनमा त्यहाँ पुगेका थिए।
कुनै एक समयमा उत्कृष्ट खेलाडीमा पर्ने उनी अहिले खासै राम्रो लयमा छैनन्। युरोप छाडेर मद्य पूर्व आइपुगेका उनी अमेरिकी क्लबमा आवद्ध हुन सकारात्मक हुन सक्ने गजेटा डेलो स्पोर्टले जनाएको छ।