एजेन्सी – प्रिमियर लिग क्लब चेल्सीले अर्को हार बेहोरेको छ। सन् २०२३-२४ को सिजन सुरु भए देखि नै कम्जोर प्रदर्शन गर्दै आएको चेल्सीले आइतबार अर्को हार बेहोरेको हो।
चेल्सी आइतबार घरेलु मैदानमा वुल्भ्ससंग ४-२ को गोल अन्तरले पराजित भयो। बलमा राम्रो नियन्त्रण राखेपनि आक्रमणमा कम्जोर देखिँदा चेल्सीले घरेलु मैदानमै नमिठो हार बेहोर्यो।
चेल्सी विरुद्ध वुल्भ्सका म्याथ्युस कुन्हाले ह्याट्रिक गर्दा वुल्भ्सले एक गोल उपहारमा पाएको थियो। त्यस्तै चेल्सीका लागि कोल पाल्मर र थियागो सिल्भाले एक-एक गोल गरे।
वुल्भ्स विरुद्ध खेलको १९ औं मिनेटमा पाल्मरको गोलबाट चेल्सीले अग्रता लिएको थियो। तर त्यसको केहि मिनेटमै वुल्भ्सले बराबरी गोल फर्कायो। खेलको २२ औं मिनेटमा कुन्हाले गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्याएका थिए।
त्यसपछि खेलको ४२ औं मिनेटमा चेल्सीका एक्सेल डिसासीले आत्मघाती गोल गर्दा वुल्भ्सले २-१ को अग्रता पायो। खेलको ६३ औं मिनेटमा कुन्हाले गोल गरे।
८२ औं मिनेटमा वुल्भ्सका कुन्हाले पेनाल्टीमा गोल गर्दा ह्याट्रिक पूरा गरे। खेलको ८६ औं मिनेटमा चेल्सीका सिल्भाले गोल गरेपनि चेल्सी खेलमा फर्किन सकेन।
चेल्सीलाई पराजित गरेपछि वुल्भ्स १० औं स्थानमा उक्लिएको छ भने चेल्सी ११ औं स्थानमा ओर्लिएको छ। चेल्सीको ३१ अंक छ भने वुल्भ्सको ३२ अंक छ।