एजेन्सी – इन्टर मियामीका अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले प्रिसिजन अन्तर्गत हङकङ ११ विरुद्ध नखेल्नुको कारण खुलाएका छन्। एक कुराकानीका क्रममा मेस्सीले हङकङ ११ विरुद्ध नखेल्नुको कारण खुलाएका हुन्।
प्रिसिजनको अर्को खेलमा जापानी क्लब भिसेल कोबेको सामना गर्नु अगाडी पत्रकारहरुसंग कुराकानी गर्दै मेस्सीले मन हुँदा हुँदै पनि हङकङमा खेल्न नसकेको बताए।
मेस्सीले हङकङको सामना गर्नेबेला आफू घाइते भएको संकेत गरे। फुटबलमा चोट जस्ता दुर्भाग्यपूर्ण परिस्थितिबाट एक खेलाडीले गुज्रनु पर्ने मेस्सीको भनाई छ।
“सत्य यो हो कि यो दुर्भाग्यवश मैले खेल्न सकिनँ। म सधैं सहभागी हुन चाहन्छु, खेल्न चाहन्छु। जब हामी खेल्नको लागि कतै यात्रा गर्छौं, झन् म खेल्न चाहन्छु। मानिसहरू हाम्रा खेलहरू हेर्न धेरै उत्साहित हुन्छन्। तर फुटबलमा दुर्भाग्यवश चोट पनि हुन्छ।”,मेस्सीले भने।
मेस्सीले अहिले भने आफू राम्रो महसुस गरिरहेको पनि बताए। तर जापानी क्लब भिसेल कोबे विरुद्ध खेल्न सक्ने, नसक्ने कुरा टुंगो भने लागिनसकेको मेस्सीको भनाई छ।
उनले भने,”म केहि दिन पहिलेको तुलनामा धेरै राम्रो महसुस गरिरहेको छु। इमान्दारिताका साथ भन्नु पर्दा म खेल्छु वा खेल्दिन भन्ने कुरा अहिले नै भन्न सक्ने अवस्था छैन। प्रशिक्षण कस्तो जान्छ म खेल्ने-नखेल्ने कुरा त्यसमा भर पर्नेछ।”
मेस्सीले हङकङ ११ विरुद्ध नखेलेपछि हङकङमा बबण्डर भएको थियो। त्यहाँका दर्शकले मेस्सीको खेल हेर्न नपाएपछि आपत्ति जनाएका थिए।