एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सी खेलेको हेर्न नपाएपछि हङकङका फुटबल प्रेमी आक्रोशित बनेका छन्। अमेरिकी क्लब इन्टर मियामीको प्रि-सिजन मैत्रीपूर्ण खेलका क्रममा मेस्सी नखेलेपछि हङकङका फुटबल प्रेमी आक्रोशित बनेका हुन्।
४० हजार समर्थकमाझ खेलिएको मैत्रीपूर्ण खेलमा इन्टर मियामीले लिग-११ लाई ४-१ ले पराजित गर्यो। तर सो खेलमा मेस्सीले खेलेनन्, मेस्सीले खेलभर बेन्चमिया बिताए।
मेस्सी नखेलेपछि हङकङमा बबण्डरनै मच्चियो। इन्टर मियामीका मालिक मध्येका एक डेभिड बेख्ह्यामले बोल्दै गर्दा समर्थकहरूले रकम फिर्ता माग गर्दै नाराबाजी नै गरेका थिए।
हङकङका फुटबल प्रेमीहरुले आफूहरु ठगिएको आरोप लगाइरहेका छन्। मेस्सीको नाममा टिकट बेचेर आफूहरु माथि स्क्याम गरिएको त्यहाँका फुटबल प्रेमीहरुको आरोप छ।
“अधिकांश मानिसहरूले मेस्सीलाई हेर्नको लागि महँगोमा टिकट खरिद गरेका थिए। मेस्सी खेल्ने छन् भनेर लगभग विशेष रूपमा विज्ञापन गरिएको थियो। तर हामीले मेस्सी खेलेको हेर्न पाएनौं। हामी माथि स्क्याम भयो।”,एक हङकङ फुटबल प्रेमीले भने।
हङकङका आसपासका देशका नागरिकहरु समेत मेस्सीलाई हेर्न हङकङ पुगेको रिपोर्टहरु आएका छन्। तर मेस्सी नखेल्दा फोकटको खर्च भएको ती समर्थकहरु बताइरहेका छन्।