September 19, 2024

एजेन्सी – जर्मन दिग्गज क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ को महत्वपूर्ण खेलमा पराजित भएको छ। च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बायर्न पराजित भएको हो।

बुधबार राति भएको खेलमा बायर्न इटालियन क्लब लाजियोसंग पराजित भयो। बलमा राम्रो नियन्त्रण राखेपनि आक्रमणमा चुक्दा बायर्न लाजियोसंग १-० को गोल अन्तरले हार्न पुग्यो।

खेलभर बायर्नले १० खेलाडीमा समेटिएर पनि बलमा कुल ६१ प्रतिशत नियन्त्रण राखेको थियो। बायर्नले खेलभर कुल १७ प्रहार गरेको थियो। तर त्यसमद्ये कुनै पनि प्रहार टार्गेटमा भने थिएनन्।

उता लाजियोले खेलभर ११ प्रहार गरेको थियो। जसमा ४ प्रहार टार्गेटमा थिए भने एक प्रहार गोलमा समेत परिणत भयो। लाजियोका लागि एक मात्र गोल सिरो इम्मोबिले गरेका थिए।

खेलको ६७ औं मिनेटमा बायर्न १० खेलाडीमा समेटिएको थियो। दयोत उपमेकेनो रेड कार्ड बेहोर्दै मैदानबाट बाहिरिएपछि बायर्न समस्यामा पर्यो। त्यसपछि पनि निरन्तर आक्रमणमा उत्रिएपनि बायर्नले हार टार्न सकेन।

बायर्नले च्याम्पियन्स लिगको दोस्रो लेगको खेल घरेलु मैदानमा हुनेछ। सो खेलमा बायर्न जसरी पनि जित निकाल्नु पर्ने दबाबमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *