September 20, 2024

एजेन्सी – केहि खेल मिडियाहरुले गरिरहेको दावीलाई मान्ने हो भने क्याटलान क्लब बार्सिलोनाले आगामी समर ट्रान्सफर विन्डोमा केहि खेलाडीहरुलाई टार्गेट बनाउने तरखर गरिरहेको छ।

प्रिमियर लिगका तीन र इटालियन लिगका एक गरी चार खेलाडीलाई आगामी समरमा बार्सिलोनाले टार्गेट बनाउने योजना बनाएको विभिन्न खेल मिडियाहरुले दावी गरेका हुन्।

बार्सिलोनाको टार्गेट सूचीमा प्रिमियर लिग क्लब लिभरपुलका मोहम्मद सलाह समेत रहेको मुन्डो डिपोर्टिभोले जनाएको छ। तर सलाहलाई भित्र्याउन सहज भने हुने छैन।

किनकि उनलाई साउदीले भित्र्याउने योजना बनाइरहेको छ। साउदीसंग बार्सिलोनाले आर्थिक रुपमा प्रतिष्पर्धा गर्न सक्ने सम्भावना धेरै न्यून छ। गत समरमा साउदीले सलाहका लागि १ सय ५० मिलियन पाउण्ड सम्मको प्रस्ताव गरेको थियो। तर सो प्रस्तावलाई लिभरपुलले अस्विकार गरेको थियो।

त्यस्तै आर्सनलका विङ्गर गेब्रियल मार्टिनेली र ब्राइटन एन्ड होभ एल्बियोनका विङ्गर काओरु मितोमालाई पनि टार्गेट गर्ने योजना बनाएको डिपोर्टिभोले रिपोर्ट गरेको छ।

बार्सिलोनाको नजरमा रहेको भनिएका अर्का खेलाडी इटालियन क्लब नापोलीका ख्विचा क्वारात्स्केलिया हुन्। उनलाई पनि बार्सिलोनाले आगामी समरमा टार्गेट गर्न सक्ने बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *