एजेन्सी – सन् २०२४ को पहिलो फिफा वरियतामा भारतलाई झड्का लागेको छ। पछिल्लो समय खासै राम्रो प्रदर्शन गर्न नसकेसंगै फिफा वरियतामा भारतलाई झड्का लागेको हो।
फिफाले सार्वजनिक गरेको पछिल्लो फिफा वरियतामा भारत सिधा १५ स्थान तल झरेको छ। कुनै बेला फिफा वरियताको शिर्ष १ सय भित्र अटाएको भारत अहिले १ सय १७ औं स्थानमा झरेको छ।
डिसेम्बरमा सार्वजनिक भएको फिफा वरियतामा भारत १ सय २ औं स्थानमा थियो। तर एएफसी एसिया कपमा कम्जोर प्रदर्शन पश्चात भारत १५ स्थान तल झरेको छ।
पछिल्लो वरीयतामा भारतले ३५.६३ अंक गुमाएको छ र उनको कुल अंक हाल ११६५.१७ रहेको छ। एसिया कपमा भारत अष्ट्रेलिया, उज्वेकिस्तान र सिरियासँग पराजित भएको थियो।
२०१५ को एसियाली च्याम्पियन अस्ट्रेलियासँग २–० को पराजय र उज्वेकिस्तानसँग ३–० को हार बेहोरेको भारतले सिरिया १-० को गोल अन्तरको पराजय भोगेको थियो।
फिफा वरियतामा भारत सन् २०१७ पछिकै खराब अवस्थामा पुगेको तथ्यांकले देखाएको छ। यस्तै स्टिम्याकको टोली एसियाली फुटबल परिसंघ (एएफसी) वरीयतामा चार स्थान तल झरेको छ र १८ बाट २२ औँ स्थानमा झरेको छ।