एजेन्सी – फ्रेन्च स्टार किलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने पक्का भइसकेको छ। एम्बाप्पे आगामी सिजनबाट पिएसजीमा हुने छैनन्।
गत साता मात्रै एम्बाप्पेले पिएसजीलाई आगामी सिजनको अन्त्यमा क्लब छाड्ने जानकारी गराएका थिए। त्यसयता पिएसजीले उनको स्थान लिन सक्ने खेलाडीको खोजि सुरु गरिसकेको छ।
यस्तोमा केहि खेल मिडियाहरुले एम्बाप्पेको स्थानमा पिएसजीले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका मार्कस रासफोर्डलाई भित्र्याउन चाहेको दावी गरेका छन्।
रासफोर्डले गत समरमा म्यानचेस्टर युनाइटेडसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए। तर पनि उनको युनाइटेडमा भविष्य अनिश्चित छ। यसवर्ष उनी खासै लयमा छैनन्।
यस सिजन रासफोर्डले हालसम्म सबै प्रतियोगितामा २९ खेलबाट ५ गोल गरेका छन् भने ६ असिस्ट प्रदान गरेका छन्। कम्जोर लय पछि युनाइटेडले उनलाई बिक्री गर्न सक्ने सम्भावना बढेको छ।
पिएसजीले रासफोर्डलाई सन् २०२२ मा पनि भित्र्याउन चाहेको थियो। तर त्यसबेला उनले युनाइटेडमै रहने निर्णय गरेका थिए।