September 20, 2024

एजेन्सी – स्पेनिस लालिगामा लिग लिडर रियल म्याड्रिडको रफ्तारमा ब्रेक लागेको छ। निरन्तर लालिगाको शिर्ष स्थानमा अग्रता बढाउने योजना सहित लम्किरहेको रियलको रफ्तारमा आइतबार ब्रेक लागेको हो।

आइतबार रियल रायो भ्यालेकानो एफसी विरुद्धको खेलमा बराबरीमा रोकियो। खेलको सुरुवातमै अग्रता लिएपनि रियल म्याड्रिडले खेलको अन्त्य सम्म अग्रतालाई जोगाउन सकेन।

खेलको तेस्रो मिनेटमै जोसेलुको गोलबाट रियलले अग्रता लिएको थियो। तर खेलको २७ औं मिनेटमा घरेलु टोलीले बराबरी गोल फर्कायो। भ्यालेकानोले पेनाल्टीको अवसर पाउँदा राउल डे टोमासले त्यसलाई गोलमा परिणत गरे।

खेलभर रियलले बलमा कुल ६१ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर रियलको तर्फबाट ११ प्रहार भएका थिए। जसमध्ये ४ प्रहार टार्गेटमा थिए। तर एक मात्र प्रहार गोलमा परिणत भयो।

उता घरेलु टोलीले खेलभर ८ प्रहार गरेका थिए। जसमद्ये ३ प्रहार टार्गेटमा थिए। भ्यालेकानोसंग बराबरी खेलेसंगै रियलले लालिगामा ८ अंकको अग्रता बनाउने मौका गुमाएको छ।

रियलको अग्रता अब ६ अंक भएको छ। सिजनका २५ खेलमा १९ जित र एक हार सहित रियलले ६२ अंक बनाएको छ। त्यस्तै भ्यालेकानोले २५ खेलबाट २५ अंक बनाएको छ।

रियल दोस्रो स्थानको जिरोना भन्दा ६ अंकले अगाडी छ। जिरोनाले रियल भन्दा एक खेल कम खेलेको छ। त्यस्तै बार्सिलोना रियल भन्दा ८ अंकले पछि छ। रियल बराबरीमा रोकिँदा जिरोना र बार्सिलोनालाई फाइदा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *