September 20, 2024

एजेन्सी – स्पेनिस लिग लालिगाका अध्यक्ष जाभियर टेबासले क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको बहिर्गमनबाट लालिगाका खासै ठूलो क्षति नभएको दावी गरेका छन्।

एक कुराकानीका क्रममा लालिगा अध्यक्ष टेबासले पोर्चुगिज स्टार रोनाल्डोले रियल म्याड्रिड छाड्दा र लियोनेल मेस्सीले बार्सिलोना छाड्दा लालिगालाई खासै ठूलो क्षति नपुगेको दावी गरेका हुन्।

पोर्चुगल मिडिया आउटलेट ए बोलाले टेबासलाई मेस्सी र रोनाल्डोको बहिर्गमनले लिगलाई कति असर गर्यो भनेर प्रश्न गरेको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा टेबासले लिग खासै संकुचित नभएको र असर पनि नपरेको जवाफ दिए।

त्यसक्रममा उनले मेस्सी, नेयमार र किलियन एम्बाप्पे जस्ता खेलाडी भएर पनि फ्रेन्च लिग अगाडी बढ्न नसकेको उल्लेख गरे। रोनाल्डो इटालियन लिगमा गएपछि त्यहाँको पनि लिगको खासै प्रगति नभएको उनले बताए।

“मेस्सी र रोनाल्डोको बहिर्गमनले खासै असर गरेन। किनभने हामी संकुचित भएनौं। तर यो पक्का हो कि दुवैको साथ हुँदा पक्कै पनि छिटो अगाडी बढ्ने थियौं। मेस्सी, नेयमार र एमबाप्पे हुँदा पनि फ्रेन्च लिग बढ्न सकेन, क्रिस्टियानो रोनाल्डो इटाली गए र इटालियन लिगको अन्तर्राष्ट्रिय आम्दानी बढेन। तर दुवै खेलाडी गुमाउँदा पनि हाम्रो राम्रो भयो।”,टेबासले भने।

उनले मेस्सी र रोनाल्डोबिना पनि ला लिगाको आम्दानीमा बृद्धि भएको दावी पनि गरे। आफूहरु नयाँ विश्व-स्तरीय प्रतिभालाई लिगमा आकर्षित गर्न सफल भएको उनको दावी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *