एजेन्सी – साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिपमा नेपालले सानदार सुरुवात गरेको छ। वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले सानदार जित निकालेको हो।
प्रतियोगिताको पहिलो खेलमा नेपालले मंगलबार राति सिरियाको सामना गर्यो। सो खेलमा नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा एक गोल गर्दै ४-१ को सानदार जित निकाल्यो।
नेपालका लागि अमिषा कार्की, अनिता बस्नेत, सावित्रा भण्डारी (साम्बा) र रेखा पौडेलले समान एक-एक गोल गरे। खेलको सुरुवातदेखिनै सिरिया विरुद्ध हावी भएको नेपालले खेलको १०औं मिनेटमा अग्रता लिएको थियो।
अमिषा कार्कीले सिरियाको डिफेन्सको गल्तीको फाइदा उठाउँदै गोल गरिन्। १३ औं मिनेटमा अनिता बस्नेतले आकर्षक कर्नर गोल गरेसंगै नेपालले २-० को अग्रता पायो।
नेपालले १९औं मिनेटमा अर्को गोल गर्यो। प्रिति राइको पासलाई साम्बाले गोलमा परिणत गरिन्। नेपाल विरुद्ध ४३ औं मेटमा सिरियाले एक गोल फर्कायो। गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले नोर मुस्ताफाको फ्रि-किक समात्न नसक्दा, सो बल गिता रानालाई लागेर पोस्ट गोल पोस्ट भित्र पुग्यो।
६८ औं मिनेटमा साम्बाको क्रसमा रेखा पौडेलले सहज गोल गरिन्। यससंगै नेपालको ४-१ को सानदार जित पक्का भयो। नेपालको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन्।