September 20, 2024

काठमाडौँ – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गरेकी छन्। वाफ च्याम्पियनसिप २०२४ अन्तर्गत इराकविरुद्ध गोलवर्षा गरेसंगै साम्बाले अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गरेकी हुन्।

नेपाली राष्ट्रिय फुटबल टोलीबाट निरन्तर एकदशक देखि खेलिरहेकी साम्बाले नेपालका लागि सन् २०१४ मा डेब्यू गरेकी थिइन्। त्यसयता उनले निरन्तर गोल गर्दै आएकी छन्।

साम्बाले सबै भन्दा बढी गोल भुटान विरुद्धको खेलमा गरेकी छन्। उनले भुटान विरुद्ध अहिले सम्म १० गोल गरिसकेकी छन्। त्यस्तै माल्दिभ्स विरुद्ध ८ गोल गरेकी उनले भारत विरुद्ध ६ गोल गरेकी छन्।

त्यस्तै इराकविरुद्ध उनले ५ गोल गरेकी छन्। यस्तै किर्गिस्तान विरुद्ध उनले ४ गोल गर्दा श्रीलंका विरुद्ध ३ गोल गरेकी छन्। बंगलादेश विरुद्ध अहिले सम्म साम्बाले २ गोल गरेकी छन्।

इन्डोनेसिया, इरान, मलेसिया, उज्बेकिस्तान विरुद्ध २ गोल गरेकी छन्। साम्बाले भिएतनाम, सिरिया, ताजिकिस्तान र म्यानमार विरुद्ध एक-एक गरेकी छन्।

साम्बाले आफूले खेलेको २५ खेलमा गोल गरेकी छन्। सावित्राले गोल गरेको ४ खेलमा मात्र नेपाल पराजित भएको रेकर्ड छ। उनले गोल गरेको १७ खेलमा नेपालले जित दर्ता गर्दा ४ खेल बराबरीमा सकिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *